सल्यान – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप सडकबाट करिब ९० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अचानक अनियन्त्रित भएर सडकबाट तल खसेको हो। दुर्घटनामा जिपमा सवार ६ जना घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक त्रिवेणी–५ सिम्कका २४ वर्षीय भुपाल पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र बोल्नसमेत नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये चार जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीले जिप दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।