काठमाडौं – काठमाडौंको माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका २९ वर्षीय सुनिल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पर्साको ठोरी गाउँपालिका घर भई माकलबारीमा बस्दै आएका सुनारलाई लुटिएको तिलहरीसहित पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार बुधबार दिउँसो ३ः२४ बजे गोकर्णेश्वर नगरपालिका–८, माकलबारीस्थित आफ्नै घरअगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीबाट करिब चार आना तौलको सुनको तिलहरी लुटिएको थियो । उक्त तिलहरीको मूल्य ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो ४ बजे सुनारलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यसका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।