काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।
सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल बोलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।
बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ गरेको भनिएको प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न पनि माग गरेको छ।
उक्त प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा आशंका रहेको कांग्रेसको भनाइ छ। त्यसैले घटनाको निष्पक्ष छानबिनका लागि संसद्बाटै उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरिएको प्रमुख सचेतक थापाले बताइन्।
बैठकमा प्रेस स्वतन्त्रता तथा न्यायालय र संवैधानिक निकायहरूको स्वतन्त्रता एवं स्वायत्तता अक्षुण्ण राख्नुपर्ने विषयमा पनि छलफल भएको थापाले जानकारी दिइन्।