एजेन्सी – बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी विभाग डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सन (डीडब्ल्यूपी) मा ठूलो साइबर आक्रमण भएको छ। आक्रमणपछि विभागका कैयौँ सेवा बन्द भएका छन् भने लाखौँ नागरिकले प्राप्त गर्ने सरकारी सुविधा प्रभावित हुने जोखिम बढेको छ।
विभागले शनिबार साइबर आक्रमण भएको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली अवरुद्ध पार्ने घटना नियोजित आक्रमण भएको जनाएको हो। आक्रमणमा संलग्न व्यक्ति वा समूहको पहिचान भने अझै खुल्न सकेको छैन।
डीडब्ल्यूपीले बेलायतका सेवानिवृत्त नागरिक तथा सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन र विभिन्न सामाजिक सुरक्षा सुविधा वितरण गर्दै आएको छ।
विभागका अनुसार साइबर आक्रमणको प्रकृति, उद्देश्य र प्रभावबारे प्राविधिक टोली तथा साइबर सुरक्षा विज्ञहरूले अनुसन्धान गरिरहेका छन्। अनुसन्धानका लागि नेसनल साइबर सेक्युरिटी सेन्टर र गभर्मेन्ट साइबर कोअर्डिनेसन सेन्टरसँग समेत सहकार्य भइरहेको छ।
बिहीबार राति पहिलोपटक पत्ता लागेको आक्रमणपछि विभागका कैयौँ सेवा बन्द गरिएका थिए। शनिबारसम्म पनि अधिकांश सेवा पुनः सञ्चालनमा आउन सकेका थिएनन्।
यद्यपि, आक्रमणका क्रममा सेवाग्राहीका व्यक्तिगत विवरण चोरी भएको कुनै प्रमाण हालसम्म फेला नपरेको विभागले स्पष्ट पारेको छ।