बारा – बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।
वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) की छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो ।
वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको र हाल वडा कार्यालयले नागरिकता रद्द गर्न अर्को पत्र पठाएपछि सो बारेमा छानबिन सुरु गरिएको इलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताए । उनले नक्कली आमा र बुबा बनेका दुबैजना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको जानकारी दिए ।
रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । प्रहरी निरीक्षक ओलीले नक्कली आमा÷बुबा बन्नेहरु हाल फरार रहेको र खोजी कार्य भइरहेको बताए ।
भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरेको भन्दै गाउँमा हल्ला चलेपछि वडा कार्यालयले खारेजीको लागि साउन ४ गते इलाका प्रशासन कार्यालयमा आवेदन गरेको हो ।
आफूहरुलाई झुक्याएर नक्कली कागजपत्रको आधारमा नागरिकताको सिफारिस बनाएर लगेको वडा अध्यक्ष गोलेले बताए ।
‘आमा-बुबा बन्नेहरुलाई चिनेको थिए, तर नक्कली छोरीलाई चिनेको थिएन,’ वडा अध्यक्ष ज्ञानबहादुर गोलेले भने, ‘साथीहरुको विश्वासमा परेर सिफारिसमा सहिछाप गर्दा त्रुटी भयो ।’ गाउँमा हल्ला चल्न थालेपछि मात्रै नागरिकता बनाउने मान्छे भारतीय नागरिक भएको आफूले पनि जानकारी पाएको उनले बताए ।
राईको बुबाआमा बनेका श्यामराज र जिरामाया सोही वडाको नेपाली कांग्रेसको वडा पार्टी सभापति सोनामसिंह गोलेका भाइ र बुहारी हुन् । दार्जिलिङ्गमा रहेका नातेदारमार्फत नक्कली विवरण तयार पारेर राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन गोले परिवारले सहयोग गरेको बताइएको छ ।