काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।
हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्य गलत सावित भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चचालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने,‘तीन ठूला सबस्टेसनहरू नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन् ।’
उनले विद्युत उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौं किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीब्र गतिमा भइरहेका बताए।
विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहनेको बताए।