AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै

आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै

  • आइतवार, फाल्गुन २५, २०८१
आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी  हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै

काठमाडौ – हिमालयन एभरेस्ट इन्स्योरेन्सले आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा मुछिएका गोकर्ण प्रसाद दवाडीलाई डेपुटी सिईओ बनाउन गृहकार्य सुरु गरेको छ। नेपालको वित्तीय तथा बीमा क्षेत्र पारदर्शिता,जवाफदेहिता र विश्वसनीयतामा आधारित हुनुपर्छ। यद्यपि, पछिल्ला केही घटनाले यी मान्यताहरूलाई चुनौतीमा पारेका छन्। हालै हिमालयन एभरेस्ट इन्स्योरेन्स उपप्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा नियुक्त हुन लागेका गोकर्णप्रसाद दवाडीको विगतलाई हेर्दा गम्भीर प्रश्नहरू उठेका छन्।

अर्थिक अपचलन र नक्कली सर्टिफिकेट काण्ड

गोकर्णप्रसाद दवाडी यसअघि सेन्चुरी कमर्सियल बैंकमा कार्यरत थिए। त्यहाँ रहँदा कर्जा प्रवाह गर्दा ग्राहकबाट अनाधिकृत रूपमा कमिसन रकम लिएको कुरा नियामक निकाय नेपाल राष्ट्र बैंकले अनुगमन गर्दा पत्ता लगाए पछि राष्ट्र बैंकले कारबाही गर्ने डरले दवाडीले बैंकबाट राजीनामा दिएर हिड्नु परेको थियो । त्यसपछि दवाडी तीन वर्षसम्म कुनै संस्थामा आबद्ध भएनन्। तीन बर्षपछि नेको इन्स्योरेन्सका सञ्चालक समिति र उच्च पदस्थसँग सेटिङ मिलाएर उच्च पदमा नियुक्त भए तर, त्यहाँ पनि उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि प्रमाणपत्र छानबिन प्रकिया अघि बढ्यो। नेपाल बीमा प्राधिकरणले शैक्षिक प्रमाणपत्र छानबिन गर्न सुरु गर्नासाथ उनले राजीनामा दिए।

स्रोतका अनुसार उनले भारतबाट ल्याएको शैक्षिक प्रमाणपत्रको आधारमा जागिर खाएका थिए दवाडीको झुटको धन्दा यतिमा मात्र रोकिँदैन नेको इन्स्योरेन्सबाट बाहिरिनासाथ समृद्धि फाइनान्समा डेपुटी सिइओ बने, तर उनको झुटको खेती लामो समय टिकेन नेपाल राष्ट्र बैंकले दवाडीमाथि आर्थिक अपचलन गरेको भन्दै छानबिन सुरु गर्यो र उनले फेरि राजीनामा दिए र अहिले हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सिइओ बन्नको लागि सञ्चालक समिति र सिइओ लाई मिलाउँदै छन् । यी घटनाले उनको व्यावसायिक आचरणमा गम्भीर प्रश्न उठाउँछ।

नक्कली प्रमाणपत्र र कानुनी प्रश्न

सर्वोच्च अदालतले नक्कली प्रमाणपत्र पेश गर्नु भ्रष्टाचारको कसुर अन्तर्गत पर्ने निर्णय गरिसकेको छ। न्यायालयको फैसलामा स्पष्ट रूपमा भनिएको छ कि ओहदा प्राप्त गर्न गलत प्रमाणपत्र पेश गर्नु भ्रष्टाचार र अपराधको श्रेणीमा आउँछ। यस्तो अवस्थामा एक पटक मात्र होइन, पटक–पटक विवादमा परेका व्यक्तिलाई बीमा क्षेत्रको महत्वपूर्ण पदमा जिम्मेवारी दिनु संस्थाको विश्वसनीयताका लागि घातक हुन सक्छ।

बीमा उद्योगको विश्वसनीयता र सम्भावित असर

बीमा क्षेत्र जनताको दीर्घकालीन वित्तीय सुरक्षासँग प्रत्यक्ष जोडिएको छ। कुनै पनि बीमा कम्पनीमा नेतृत्व तहमा बसेका व्यक्तिको नैतिकता, पारदर्शिता र इमान्दारिता उच्च स्तरको हुनुपर्छ। विवादास्पद विगत भएका व्यक्तिहरूलाई उच्च पदमा राख्दा संस्थाको साख मात्रै नभई समग्र बीमा क्षेत्रकै विश्वासनीयतामा नकारात्मक प्रभाव पर्न सक्छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सले आफ्नै प्रतिष्ठा जोगाउनका लागि मात्र होइन, समग्र बीमा उद्योगलाई दुरुस्त राख्नका लागि गोकर्णप्रसाद दवाडीको नियुक्ति पुनर्विचार गर्न आवश्यक छ। यदि कुनै संस्था आर्थिक अपचलन, अनियमितता र गलत प्रमाणपत्र प्रयोग गरेको इतिहास भएका व्यक्तिलाई उच्च ओहदामा नियुक्त गर्छ भने त्यसले कानुनी र नैतिक दुवै दृष्टिकोणबाट गम्भीर प्रश्न उठाउँछ।

नेपाल बीमा प्राधिकरण, सम्बन्धित नियामक निकायहरू, सरोकारवाला निकायहरू र कम्पनी सञ्चालक समितिले यस्ता विषय गम्भीर रूपमा लिएर न्यायोचित निर्णय लिनुपर्ने समय आएको छ यस विषयमा हामीले हिमालयन एभरेस्टका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठलाई जिज्ञासा राख्न खोज्दा पटकपटक सम्पर्क गर्दा समेत उनले कुनै प्रतिक्रिया दिन चाहेनन्
यस विषयमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले कसरी लिन्छ हेर्न बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार