काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने पहिलो महाधिवेशनबाट पनि वर्तमान सभापति रवि लामिछानेलाई नै निरन्तरता दिने तयारी गरेको छ ।
पार्टीभित्रका नेताहरूले सार्वजनिक रूपमा नै लामिछानेको विकल्प तत्काल नदेखिएको टिप्पणी गर्न थालेका हुन् ।
चार वर्षअघि स्थापना भएको रास्वपाले यो महाधिवेशनलाई आफ्नो संस्थागत संरचना औपचारिक रूपमा सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।
पार्टीले छोटो समयमै उल्लेखनीय राजनीतिक उपस्थिति बनाएको दाबी गर्दै नेताहरूले आगामी नेतृत्व पनि स्थायित्वकै दिशामा जाने संकेत गरेका छन्।
महाधिवेशनको तयारीबारे बोल्दै महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी नेतृत्वमा ठूलो परिवर्तनको सम्भावना नरहेको स्पष्ट संकेत गरेका छन्। उनले नेतृत्व र सरकारबीचको “सन्तुलन” कायम गर्दै पार्टी अघि बढ्ने बताए।
त्यसैगरी, संसदीय दलका उपनेता गणेश पराजुलीले पनि पार्टी एकताबद्ध रहेको दाबी गर्दै सभापति लामिछानेकै नेतृत्वमा महाधिवेशन अगाडि बढ्ने बताएका छन्।
उनका अनुसार, महाधिवेशनले सबै निर्णय लोकतान्त्रिक प्रक्रियामार्फत टुंग्याउनेछ, तर तत्काल नेतृत्व परिवर्तनको एजेन्डा नरहेको स्पष्ट छ।
रास्वपाका नेताहरूका अनुसार वरिष्ठ नेता बालेन्द्र शाहले पनि पार्टी नेतृत्व लामिछानेकै हातमा रहने संकेत गरेका छन् र महाधिवेशनपछिको औपचारिक कार्यक्रमहरूमा सहभागी हुने तयारीमा छन् ।
पार्टीभित्र अहिले वडा र पालिका तहका अधिवेशनहरू जारी छन् ।