काठमाडौं – नेपाली महिला क्रिकेट टोली आज एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणमा बलियो प्रतिद्वन्द्वी चीनसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको वायोमास ओभलमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ।
झण्डै ८७ महिनापछि नेपाल र चीन आमनेसामने हुन लागेका हुन् । पछिल्लो भेट सन् २०१९ फेब्रुअरीमा भएको थियो, जहाँ दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।
इतिहास हेर्दा नेपालले चीनमाथि अहिलेसम्म पूर्ण दबदबा कायम राखेको छ । टी–२० अन्तर्राष्ट्रियमा भएका दुई भेटमा नेपालले दुवै खेल जितेको छ। पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ५ रनको रोमाञ्चक जित दर्ता गरेको थियो।
आजको खेल नेपाली टोलीका लागि प्रतियोगितामा पहिलो खेल हुनेछ। उता चीनले इन्डोनेसियामाथि जित निकाल्दै प्रतियोगितामा आत्मविश्वास बढाइसकेको छ र छनोट यात्रा बलियो बनाउन चाहन्छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पछिल्लो वरीयतामा नेपाल २२औँ स्थानमा र चीन ४३औँ स्थानमा छन् ।