काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आज पनि संसद बहिष्कार गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक सुरुहुना साथ पर्चा देखाउँदै साम्पाङले सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्ने कि आफूलाई निष्कासन गर्न माग गरेका थिए ।
सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसद वैठकमा बोलाउन रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ आफ्नो झोला भिरेर बैठकबाट बाहिरिएका हुन् ।
संसद नियमावलीमा संसद सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ ।
विपक्षीले सोही माग राखेर संसद अवरुद्ध गर्दै आएका छन् ।
केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए।
त्यसैबीच मंगलबारको बैठकमा आकस्मिक समय, विशेष समय र शून्य समयको कार्यक्रम सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा आउने जानकारी सत्तापक्षले नदिए आजको बैठक पनि विपक्षीहरुले अवरुद्ध गरेका थिए । अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसपछि रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा अनौपचारिक छलफल भएको थियो।
प्रधानमन्त्री आउने दिनसम्मका लागि संसद् बैठकमा विरोध नगर्ने दुवै पक्षबीचको सहमतिपछि अहिले सदनको काम कारबाही अघि बढेको थियो ।