AarthikBikash
शनिबार, कार्तिक ८, २०८३
  • होमपेज
  • समाज
  • मंगलबारसम्म धानबाली भित्र्याइसक्न मौसम विज्ञको सुझाव

मंगलबारसम्म धानबाली भित्र्याइसक्न मौसम विज्ञको सुझाव

  • शनिबार, कार्तिक ८, २०८३
मंगलबारसम्म धानबाली भित्र्याइसक्न मौसम विज्ञको सुझाव

काठमाडौं – केही दिन सामान्य रहने मौसम आगामी बुधबारदेखि फेरि बदली हुने सम्भावना देखिएको छ।

बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने अनुमान गर्दै जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १५ गतेसम्म सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहनेछ। तर, बुधबारदेखि बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ। यद्यपि, वर्षाको मात्रा र त्यसले पार्न सक्ने प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागले जनाएको छ।

गत २४ घण्टामा देशभर उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागको भनाइ छ। हाल मौसम स्थिर देखिए पनि आगामी साता मौसमी प्रणालीमा फेरबदल आउन सक्ने संकेत देखिएको हो।

मौसमविद् रोजन लामिछानेका अनुसार आगामी कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने अन्य क्षेत्रमा वर्षाको सम्भावना न्यून रहेको उनले बताए।

‘कात्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिन्छ। वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन,’ लामिछानेले भने।

मौसममा आउन सक्ने फेरबदलले विशेषगरी कृषि, पर्यटन तथा खेलकुद गतिविधिमा असर पार्न सक्ने आकलन गरिएको छ। अहिले धान भित्र्याउने समय भएकाले किसानलाई अनुकूल मौसमको सदुपयोग गर्दै सम्भव भएसम्म कात्तिक ७ गतेभित्रै धान काट्ने र बाली भित्र्याउने काम सम्पन्न गर्न विभागले आग्रह गरेको छ।

कात्तिक ८ गतेपछि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमको अवस्थालाई ध्यानमा राख्न र पछिल्ला मौसमी सूचना नियमित रूपमा लिनसमेत विभागले सचेत गराएको छ।

आम नागरिकलाई आधिकारिक मौसमी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्न वा ११५५ नम्बरमा फोन गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार