AarthikBikash
आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • खेलकुद
  • झण्डै दुई वर्षपछि ६ जना खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

झण्डै दुई वर्षपछि ६ जना खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

  • आइतवार, जेष्ठ २४, २०८३
झण्डै दुई वर्षपछि ६ जना खेलाडीले ज्यान गुमाएको सिस्नेरी घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – मकवानपुरको सिस्नेरी क्षेत्रमा पहिरोमा परी ज्यान गुमाएका खेलाडीको घटनाबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले पाँच सदस्यीय उपसमिति गठन गरेको छ।

परिषद्ले खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसूदन बस्नेतको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो।

उपसमितिमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख शारंगीन निरौला, कानुन शाखा प्रमुख नारायणराज अर्याल, खेलकुद प्रतियोगिता तथा योजना विभागका विनोदकुमार उप्रेती तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक कानुनी अधिकृत सदस्य रहेका छन्।

गत २०८१ असोज १२ मा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका(३ स्थित वात्सल्यदेवी विद्यालय परिसरमा ४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण गरिरहेका थिए । त्यसपछि शनिबार बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधको दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको थियो ।

कुलेखानीको बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएका कारण बत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।

उक्त घटनामा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनले पहिरोमा परि ज्यान गुमाएका थिए।

घटनापछि मृतक खेलाडीका परिवारजनले व्यवस्थापकीय कमजोरीका कारण दुर्घटना भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। सोही मागअनुसार खेलाडीका आफन्तले खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए र मन्त्रालयले आवश्यक अध्ययन तथा छानबिनका लागि राखेपलाई निर्देशन दिएको हो।

अब समितिले घटनाका कारण, जिम्मेवारी र सम्भावित लापरबाहीबारे अध्ययन गरी २१ दिनभित्र प्रतिवेदन पेश गर्नेछ।

यसअघि पनि यस घटनाको अध्ययन गर्न एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समितिमा गठन गरेको थियो ।

सम्बन्धित समाचार