AarthikBikash
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • खेलकुद
  • ५ पटकको विश्व विजेता ब्राजिलले आज मोरक्कोसँग खेल्दै

५ पटकको विश्व विजेता ब्राजिलले आज मोरक्कोसँग खेल्दै

  • शनिबार, जेष्ठ ३०, २०८३
५ पटकको विश्व विजेता ब्राजिलले आज मोरक्कोसँग खेल्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत भोलि बिहान समूह सी का दुई खेल हुँदैछ । पहिलो खेलमा ५ पटकको ब्राजिल र गत संस्करणको सेमिफाइनलिस्ट मोरोक्को तथा लामो समयपछि विश्वकपमा पुनरागमन गरेका हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

यो समूहबाट नकआउट प्रवेशका लागि ब्राजिल र मोरोक्कोलाईनै प्रबल दाबेदार मानिएको अवस्थामा पहिलो खेलले समूहको समीकरणमा समेत प्रभाव पार्न सक्छ ।

समूह सीको पहिलो खेलमा ब्राजिल र मोरोक्को आमनेसामने हुनेछन् । यो खेल नेपाली समयअनुसार आइतबार बिहान पौने ४ बजे न्युयोर्कमा हुनेछ । एकातिर पाँच पटकको विश्व विजेता ब्राजिल र अर्कोतर्फ विश्व फुटबलमा शक्ति राष्ट्रका रुपमा उदाउँदै कतार विश्वकपको सेमिफाइनलसम्म पुगेको मोरक्को छन् । यस्तोमा यो खेललाई विरासत र उदीयमान टोलीबीचको भिडन्तका रुपमा हेरिएको छ ।

ब्राजिल

निर्विवाद समूह सीमा ब्राजिल बलियो दाबेदार हो । दक्षिण अमेरिकी छनोटबाट उत्तर अमेरिकाको टिकट काटेको ब्राजिल विश्वकपको सदाबहार दाबेदार हो । छिमेकी देश उरुग्वेमा भएको पहिलो संस्कणदेखि पछिल्लो पटक कतारमा भएको विश्वकपसम्म ब्राजिल प्रतियोगिताको केन्द्रमा रहँदै आएको छ । विश्वस्तरिय खेलाडी, तेज आक्रमण अनि प्राविधिक खेलमा माहिर ब्राजिल यस पटक छैटौं उपाधिको खोजीमा हुनेछ ।

मोरक्को

एटलस लायन्स प्रतियोगितामा सबैभन्दा संरचनात्मक र अनुशासित टोली मध्ये एक हो । पछिल्लो विश्वकपमा आफ्नो ऐतिहासिक सेमिफाइनल दौड पछि, मोरोक्कोलाई अर्को बलियो शक्तिका रुपमा हेरिन थालेको छ । त्यो समय बेल्जियम, स्पेन र पोर्चुगल जस्ता स्तरिय टोलीलाई हराएर शनशनी मच्चाएको मोरोक्को यस पटक थप शसक्त देखिन्छ । वर्षको सुरुवातमै अफ्रिका कप अफ नेशन्स जित्दै आत्मविश्वासी देखिएको यो टोली विश्वकपमा पनि उस्तै रवाफ बोकेर आउनेछ ।

हेड टु हेड

ब्राजिल र मोरोक्कोबीच अहिलेसम्म ३ पटक भेट भएको छ । जहाँ ब्राजिलले २ खेल जित्दा १ खेल मोरोक्कोको पक्षमा गएको छ । पछिल्लो पटक यि दुईबीच सन् २०२३ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको थियो । जहाँ मोरक्कोले ब्राजिललाई २–१ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

प्लेयर टु वाच

ब्राजिल

भिनिसियस जुनियर

नेयमारको खस्किँदो लय र बढ्दो उमेरसँगै अब ब्राजिलको आक्रमणको मुख्य जिम्मेवारी भिनिसियसको काँधमा छ। उनको गति र ड्रिब्लिङ क्षमता मोरक्कन डिफेन्सका लागि टाउको दुखाइ बन्न सक्छ । रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने उनी आफ्नो गति, अद्भूत ड्रिब्लिङ र वान अन वान परिस्थितिमा डिफेन्डरलाई जिल्याउने कलाका लागि चिनिन्छन् ।

मोरक्को

अकरफ हाकिमी

विश्वकै उत्कृष्ट राइट ब्याक मध्येका एक हाकिमी मोरक्कोको डिफेन्स र अट्याक दुवैका खम्बा हुन् । भिनिसियसलाई रोक्ने र काउन्टर अट्याकमा बल अघि बढाउने जिम्मा उनकै हुनेछ ।

यहि समुहको अर्को खेलमा हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार आइतबार बिहान पौने ७ बजे बोस्टनमा हुनेछ ।

सम्बन्धित समाचार