AarthikBikash
सोमवार, साउन ४, २०८३
  • होमपेज
  • राजनीति
  • प्रदेशलाई प्रतिपक्षविहीन बनाउने तीन दलीय सरकारको प्रस्ताव स्वीकार्य छैन: गगन थापा

प्रदेशलाई प्रतिपक्षविहीन बनाउने तीन दलीय सरकारको प्रस्ताव स्वीकार्य छैन: गगन थापा

  • आइतवार, साउन ३, २०८३
प्रदेशलाई प्रतिपक्षविहीन बनाउने तीन दलीय सरकारको प्रस्ताव स्वीकार्य छैन: गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्ताव कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन्।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य, जनादेश र प्रतिपक्षको भूमिकामाथि आघात पुग्ने बताएका हुन्।

उनले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गर्दै जनताले दिएको म्यान्डेटविपरीत हुने भएकाले कांग्रेसले यस्तो प्रस्ताव अस्वीकार गरेको स्पष्ट पारे।

थापाले विगतमा सत्ताकै लागि कांग्रेसले पनि केही गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने बताए। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको भनाइ थियो।

राजनीतिक दलहरूमा बढ्दो सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उनले बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा र प्रतिपक्षमा रहेको दल सत्तापक्षमा पुग्ने प्रवृत्तिले राजनीतिको विश्वसनीयता कमजोर बनाएको बताए।

थापाले भने- ‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ। परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन। विगतका गल्ती दोहोर्‍याउँदैनौँ। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ। तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु हो। सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य होइन।’

उनले चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको उल्लेख गर्दै सत्ता केन्द्रित राजनीतिले कांग्रेससहित सबै पुराना दललाई क्षति पुर्‍याएको बताए।

थापाले अब जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढाउनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार