काठमाडौं – रसुवा बाढीमा परी निधन हुनेको संख्या १ हजार ३ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न जिल्लाबाट बाढीमा परी मृत्यु भएका १ हजार ३ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उक्त संख्यामा विभिन्न मानव अंगसमेत समावेश छन्।
बाढीमा परी हालसम्म २७९ जना घाइते भएका छन्। घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। नेपाली सेनामार्फत २ हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको प्राधिकरणले जनाएको छ।
बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ३, क्वारेन्टाइन कार्यालयका ३ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी छन्।
प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट १ हजार ५५८ र विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन्। बेपत्तामध्ये ५८३ जना विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिक छन्।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार १९९, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र ३ हजार ५०९ नेपाली गरी कुल ३ हजार ७८२ जनाको हवाई उद्धार गरेको छ। निजी क्षेत्रबाट समेत काठमाडौंमा २९ वटा उडान सञ्चालन भएका छन्।
हाल नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन्।