काठमाडौं – विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खुलाउने कार्य भइरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सुरुङको भित्री भागका साथै पावर हाउस सुरक्षित हुनसक्ने र फँसेका व्यक्तिहरु जिवित भेटिनसक्ने झिनो आशा छ ।
नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली अहिले यहाँ परिचालित भएको हो । उद्धारका लागि ५ वटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकर मेसिनको प्रयोग गरिएको छ ।
सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो फलामका भत्केका संरचना तथा ठूला ढुंगाहरू (डेब्रिस) थुप्रिएका कारण चुनौती थपिएको जनाइएको छ ।
त्यसलाई पन्छाएर सुरुङको माथिल्लो भागबाट करिब ३ फिट जति मुख खुलाइएको प्रधानमन्त्रीको सचिवालयको प्रेस नोटमा उल्लेख छ । बाटो खुलेसँगै उद्धारकर्मीहरू सुरुङभित्र १५ देखि २० मिटरसम्म पुगिसकेका छन् ।
यद्यपि, मेसिन र एक्स्क्याभेटर भित्र पठाउन सुरुङको पूरै मुख खुलाउनुपर्ने भएकाले बाँकी अवरोध पन्छाउने काम जारी छ ।
त्यहाँ रहेका ७ वटा ठूला ढुंगाहरू (बोल्डर)लाई ब्लास्टिङ गर्ने तयारी अन्तिम चरणमा पुगेको उद्धार टोलीले जनाएको छ ।
करिब १७० मिटर लामो यो सुरुङ अहिले माटो र लेदोले भरिएको र सफा गरेर छिचोलेपछि मात्रै भित्र रहेको पावरहाउसलगायत अन्य मुख्य संरचनासम्म पुग्न र वास्तविक क्षतिको विवरण पत्ता लगाउन सकिने आयोजनाले जनाएको छ ।