रसुवा – भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य जारी छ।
रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा आयोजनाका ५१ कर्मचारी, एक सञ्चालक, दुई दैनिक ज्यालादारी कामदार तथा तीन ठेकेदार कम्पनीका ३९ जना छन्।
सम्पर्कविहीन भएकाको खोजीका लागि नेपाली सेनाको उद्धार टोली आयोजनास्थल पुगेको छ। कम्पनीका अनुसार आवश्यक सामग्री र वरिष्ठ जियोलोजिस्टसहित सेनाको टोली हेलिकप्टरमार्फत आयोजनाको पावरहाउस क्षेत्रमा पुगेको हो।
आयोजनाभन्दा बाहिर सम्पर्कविहीन भएकाको खोजीका लागि दक्ष रक क्लाइम्बरको टोलीसमेत परिचालन गरिएको छ। टोलीले जमिनबाट खोजी गरिरहेको कम्पनीले जनाएको छ।
यसअघि हिमालय समिट क्लबको टोलीले पनि हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर खोजी गरेको थियो। तर बिहीबार साँझसम्म सम्पर्कविहीनमध्ये कसैको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ।
शुक्रबारदेखि खोजी कार्य पुनः सुरु गरिएको र थप विवरण आउन बाँकी रहेको कम्पनीले जनाएको छ।