काठमाडौं – नेपालले हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो।
यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो। यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए। पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए।
यो साझेदारी पनि नेपालको टी-२०आईमा सबैभन्दा उच्च ओपनिङ साझेदारी हो। यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो।
दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरे । कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे।
हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा बुधबार नेपालले कतार तथा कुवेतले हङकङलाई पराजित गरेका थिए ।