काठमाडौं-नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।
तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्यो ।
ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।
नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।
नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।
नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ ।