काठमाडौं – साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा नेपालले सोमबार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । ढाकाको बसुन्धारा स्पोर्टस् एरिनामा हुने खेलको विजेता च्याम्पियन बन्नेछ ।
नेपाललाई बराबरीमा रोक्दा पनि साबिक विजेता बंगलादेश विजेता बन्नेछ । बंगलादेशले पाँचमध्ये चार संस्करणको ट्रफी जितिसकेको छ । नेपाल एकपटकको उपविजेता हो । यसपटक प्रतियोगितामा सहभागी नभएको भारतले एकपटक उपाधि हात पारेको छ ।
दोहोरो राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहन नेपाललाई स्पष्ट ३ अंक आवश्यक छ । नेपालको जितले दुवै टोलीको समान १५ अंक हुनेछ । यस्तो अवस्थामा डबल राउन्ड रोबिन पद्धतिमा आयोजना भएको प्रतियोगिताको उपाधिको छिनोफानो गोलअन्तरमा हुनेछ । गोलअन्तरमा नेपाल ६ गोलले अगाडि छ । यसकारण नेपाललाई उपाधि हात पार्नका लागि जित आवश्यक छ । हारले नेपाल पुनः उपविजेतामै सीमित हुनेछ ।
नेपालले अहिलेसम्म बंगलादेशलाई यू–२० फम्र्याटमा हराउन सकेको छैन । सन् २०१८ देखि आयोजना भएको प्रतियोगितामा बंगलादेश हाबी हुँदै आएको छ । बंगलादेशविरुद्ध अहिलेसम्म नौ पटक भएको भिडन्तमा नेपालले एक खेल मात्रै बराबरी निकालेको छ । अन्य आठ खेलमा बंगलादेश विजयी भएको छ ।