AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चिकित्सकहरु नै आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा ठप्प

चिकित्सकहरु नै आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा ठप्प

  • बुधबार, बैशाख १६, २०८३
चिकित्सकहरु नै आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा ठप्प

नेपालगञ्ज – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरु सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर अनन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकहरुको आन्दोलनका कारण ओपीडी लगायतका उपचार सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।उपचारका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले ज्यान मार्ने धम्की दिंदै दुर्व्यवहार गरेको भन्दै चिकित्सकहरु नै आन्दोलनमा उत्रिएका हुन् ।

उपचारका क्रममा बाँकेको बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको १३ वैशाखमा मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले चिकित्सक र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीलाई ज्यान मार्ने धम्की दिँदै दुर्व्यवहार गरेको भन्दै चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
चिकित्सकहरुले मृतकका आफन्तहरुको समूहमाथि कारबाही र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखेका छन् ।

भेरी पश्चिम नेपालकै सबैभन्दा ठूलो र विशिष्टकृत सेवा प्रदान गर्ने संघीय अस्पताल हो । भेरी अस्पतालमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पुग्ने गर्छन् ।

दिलसराको मृत्युको विषयलाई लिएर मंगलबार बिहान साढे १० बजे तिर मृतकका आफन्त बताउने एउटा समूह प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीको कार्यकक्षमा पुगेर हातपातको प्रयास गर्नुका साथै तथानाम गाली बेइज्जती गरेको चिकित्सकहरुको भनाइ छ ।

त्यही समूहले अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे लगायतका चिकित्सकहरुलाई ज्यान मार्ने धम्की पनि दिएको आरोप छ ।

हातपातको प्रयास र ज्यानमार्ने धम्की दिने व्यक्तिहरुलाई कारवाही र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म विरामीको सेवामा फर्किने अवस्था नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताएका छन् ।

सहमतिपछि धम्की र हातपात
प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेतको सहजीकरणमा सोमबार चिकित्सक र मृतकका आफन्तबीच सहमति भएको थियो ।

पीडित पक्षको तर्फबाट अस्पतालका चिकित्सकहरुसँग वार्ता गर्ने क्रममा रास्वपा बाँकेका नेता दल बहादुर सुनारले पीडित परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेका थिए । तर, चिकित्सकहरुले भने उपचारमा लापरबाही नभएको दावी गर्दै क्षतिपूर्ति नदिने अडान लिएका थिए ।

चिकित्सकहरुले मेडिकल काउन्सिल लगायत राज्यका निकायहरुले ठहर गरेरमा जेल जान समेत तयार रहेको तर, गल्तिविना क्षतिपूर्तिको नाममा रकम नदिने अडान लिएपछि उपचारमा संलग्न चिकित्सकमाथि कानूनी उपचार खोज्ने र मंगलबार शव पोष्टमार्टम गरेर पीडितका आफन्तहरुले बुझ्ने सहमति भएको थियो ।

त्यही सहमती अनुसार पीडित परिवारले शव पनि बुझेका थिए । तर, सहमति भइसकेको विषयमा मंगलबार पुनः मृतकका छोरा सुरेश विक लगायतको २०÷२५ जनाको समूह अस्पताल प्रमुखको कार्यकक्षमा पुगेर गालीगलौज गर्दै हातपातको प्रयास गरेको चिकित्सकहरुको आरोप छ ।

सम्बन्धित समाचार