कैलाली – कैलालीमा वनका कर्मचारीले एक महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा पक्राउ परेका १२ जना वन कर्मचारीमध्ये वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरुद्ध ‘शान्ति विरुद्धको कसुर’ मा मुद्दा दर्ता गरिएको हो । बाँकी १० जनालाई भने रिहा गरिएको प्रहरीले जनाएको छ ।
गत शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामी को टेम्पो भिरबाट खसालेको आरोप छ। ती महिलाले सडक किनारमा टेम्पो राखेर किराना सामान बिक्री गर्दै आएकी थिइन्।
वनका कर्मचारीले अतिक्रमण हटाउने क्रममा टेम्पो हटाउन खोज्दा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो भिरबाट खसेको दाबी गरेका छन्। तर घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो।
यता, सुदूरपश्चिम प्रदेश सरकारले घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।