झापा – झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले पदबाट राजीनामा दिएका छन्।
नियमित अवकाशका लागि करिब ६ महिना बाँकी छँदै उनले सहसचिवबाट राजीनामा दिएका हुन्।
उनी ५८ वर्षे उमेर हदका कारण आउँदो माघ १३ गते अनिवार्य अवकाशमा जान लागेका थिए।
सोमबार काठमाडौँ पुगेर गृह सचिवसमक्ष आजदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएर उनी झापा फर्किएका थिए।
जिल्ला प्रशासन कार्यालय झापाले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी गेलालाई बिदाइसमेत गरेको छ।
गेलाल २०७७ सालमा सहसचिवमा बढुवा भएका थिए। उनको राजीनामा भने मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।
गेलालले राजीनामाको कारण भने घरायसी भएको बताएका छन्।
यद्यपी सरकारले निजामती सेवामा जनशक्ति कटौती गर्ने तयारीसँगै कर्मचारीको अनिवार्य अवकाशको उमेर ५५ वर्षमा झार्ने प्रस्ताव अघि बढाएपछि गेलालले राजीनामा दिएको बुइिएको छ ।
सरकारले संघीय निजामती सेवामा कार्यरत कर्मचारीको संख्या घटाउने तयारी गरिरहेको छ । लामो समयदेखि सेवामा रहेका तथा ज्येष्ठ कर्मचारीलाई अवकाश दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमै समेट्ने गरी गृहकार्य भइरहेको जनाइएको छ ।