काठमाडौं – आईसीसी विश्व कप लिग २ मा नेपालले ओमानलाई जितको लागि २ सय ५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनाएको हो। ओपनर विनोद भण्डारी डक आउट भए। सामना गरेको पहिलो बलमा रामानन्दीको बलमा हमाद मिर्जाद्वारा क्याच आउट भए। दोस्रो ओभरको पहिलो बलमा विनोद आउट हुँदा नेपालले रनको खाता खोल्न सकेको थिएन्।
यसपछि आशिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटको लागि शतकीय साझेदारी गर्दै इनिङ्स सम्हाले। १ सय २३ रनको साझेदारी गरेर अर्जुन ४८ रनमा आउट भए। उनी राष्ट्रिय टिमबाट पहिलो अर्धशतक बनाउन मात्र २ रनले चुके।
हसनेन साहको बलमा उनी आउट भए।
लगतै कप्तान रोहित पौडेल मात्र ९ रनमा आउट भए। उनी सकिए अहमदको बलमा पबिलियन फर्किए। यसपछि क्रिजमा जमेका आशिफ ९४ रनमा आउट हुँदा शतकबाट ६ रनले चुके। ३५ औं ओभरको तेस्रो बलमा नदिम खानको बलमा हसनेन उल वाहबले बाउन्ड्री नजिकै उत्कृष्ट क्याच आउट गरे। ६६ बलमा अर्धशतक बनाएका आशिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का सहित ९४ रन बनाए। उनले बाउन्ड्रीबाट ९४ रन बनाएका हुन्। उनी युएई विरुद्धको खेलमा ड्रप भएका थिए। त्यसपछि आज मौका पाएका आशिफले उत्कृष्ट प्रदर्शन गरे। उनी नै आज नेपालको लागि सर्वाधिक रन बनाउने खेलाडी बने।
उनले सन् २०२३ मा लिग टुमा नै पपुवा न्युगिनी विरुद्ध पहिलो शतक बनाएका थिए। उनले सो खेलमा १ सय १० रन बनाएका थिए। पाँचौं विकेटको रूपमा १७ रन बनाएका गुल्सन झा आर्यान बिष्टको बलमा एलबिडब्लु धरापमा परे। उनी आउट हुँदा नेपालले ९५ रन बनाएको थियो।
खेलको अन्तिम चार ओभरमा रन जोड्नपर्ने चुनौती रहँदा ४७ औं ओभरको सुरूवाती दुई बलमा नदिम खानले नेपालको दुई विकेट लिए। ३३ रन बनाएका दीपेन्द्र सिद्धान्तद्वारा क्याच आउट भए। लगतै अर्को बलमा हिटर करण बोल्ड आउट हुन पुगे। विकेट पतनको शीलशीला जारी रहँदा नन्दन यादव २ रनमा र सन्दीप लामिछाने १ रन जोडेर रन आउट भए।
अन्तिम ओभरको दोस्रो देखि चौथो बलसम्मआरिफले लगातर ३ छक्का प्रहार गर्दा नेपालले २ सय ५० रनको आँकडा पार गर्यो। २४ बल खेल्दै ४ छक्का र १ चौका सहित ४३ रन बनाएर आरिफ आउट भए।
बलिङमा नदिम खानले १० ओभरमा ४१ रन दिएर सर्वाधिक ३ विकेट लिए। सकिल अहमद र हसनेन साहले समान २ विकेट लिए।
यसअघिको खेलमा नेपाल १०२ रनले पराजित भएको थियो।