नुवाकोट – रसुवाको भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाल आएको दक्षिण कोरियाली विपद् उद्धार टोली (केडीआरटी) ले नुवाकोटको बट्टारमा बेसक्याम्प स्थापना गरेर खोजी अभियान तीव्र बनाउने भएको छ।
यसअघि विदुरमा बेसक्याम्प बनाउने तयारी गरेको टोलीले योजना परिवर्तन गर्दै बुधबार नै बट्टार सर्ने निर्णय गरेको हो। निर्धारित समयभन्दा एक दिन अगावै बट्टारलाई खोज तथा उद्धारको मुख्य आधार क्षेत्र बनाउने निर्णय गरिएको हो।
बट्टारबाट सञ्चालन हुने खोजी अभियानमा भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएकाहरूका साथै हराइरहेका दक्षिण कोरियाली नागरिकको खोजीलाई समेत प्राथमिकता दिइनेछ।
नेपाल सरकारको अनुरोधपछि दक्षिण कोरियाली सरकारले ४४ सदस्यीय केडीआरटी नेपाल पठाएको हो। टोली बुधबार बिहान दक्षिण कोरियाली वायुसेनाको केसी–३३० ‘सिग्नस’ मल्टिरोल एरियल ट्यांकर विमानमार्फत काठमाडौं आइपुगेको थियो। विमान बिहान ६ः२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु–होको नेतृत्वमा आएको टोलीमा राष्ट्रिय अग्नि नियन्त्रण निकायका ३७ जना कर्मचारी तथा परराष्ट्र मन्त्रालय र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)का अधिकारी सहभागी छन्।
टोलीले अत्याधुनिक खोज तथा उद्धार सामग्रीसमेत नेपाल ल्याएको छ। पाँच वटा उद्धार कुकुर, भग्नावशेषभित्र फसेका मानिस पत्ता लगाउन प्रयोग हुने उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो उपकरण र थर्मल इमेजिङ उपकरणलगायतका सामग्री टोलीसँग छन् ।