रसुवा – ४३ हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ बस्ने ३७ वर्षीय सुशिल गुरुङ रहेका छन् ।
रसुवाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङल्हामु सडकखण्डमा काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९५१० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा प्रहरीले बसमा सवार गुरुङलाई पनि चेकजाँच गरेको थियो ।
चेकजाँचपछि प्रहरीले उनको साथबाट स्रोत नखुलेको ४३ हजार अमेरिकी डलर (६५ लाख ७० हजार ८३० नेपाली रुपैयाँ) बरामद गरेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार बेत्रावती बजारबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार बरामद अमेरिकी डलरसहित पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको छ ।