AarthikBikash
बुधबार, जेष्ठ १३, २०८३
  • होमपेज
  • राजनीति
  • जेलबाट भागेको घटनामा रवि लामिछानेमाथि सुक्ष्म अनुसन्धान गर्न सिफारिस

जेलबाट भागेको घटनामा रवि लामिछानेमाथि सुक्ष्म अनुसन्धान गर्न सिफारिस

  • बुधबार, जेष्ठ १३, २०८३
जेलबाट भागेको घटनामा रवि लामिछानेमाथि सुक्ष्म अनुसन्धान गर्न सिफारिस

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट निकालिएको प्रकरणमा रास्वपाका सांसदहरू मनिष झा र हरि ढकालसहित जेलर सत्यराज जोशीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनका घटना छानबिन गर्न आयोगले यसअघि एक समिति गठन गरेको थियो । आयोगकी सदस्य लिली थापा संयोजकत्वको उक्त समितिले उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो ।

‘अनधिकृत रूपमा कारागारबाट निस्किएको कार्य कानुनविपरीत रहेको भनी व्याख्या गरी सकिएको र सो कार्य मानव अधिकारको हनन मात्र नभई कारागार ऐन, २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको हुँदा रवि लामिछाने कारागारबाट बाहिर निस्कनुमा को कसको कस्तो संलग्नता थियो भन्ने सम्बन्धमा नक्खु कारागारका प्रशासक ९जेलर० सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छुटाउन भनी ठूलो समूहसहित गएका तत्कालीन सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरू मनिष झा, हरि ढकाल समेतलाई शंकाको दायरामा राखी अनुसन्धान गरी दोषी पत्ता लगाई कानुनबमोजिम कारबाही गर्न,’ आयोगले सिफारिसमा भनेको छ ।

यसैगरी आयोगले जेनजी आन्दोलनका क्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा लामिछानेको संलग्नता भएकोले उनीमाथि सुक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेको छ ।

‘सो कार्यक मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा ४९ मा उल्लेखित फौजदारी अपराध समेत भएको,’ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार