काठमाडौं – कृष्णभीरमा सडक सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा फर्किएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार विज्ञप्ति जारी गर्दै उपत्यकामा ग्यास बिक्री–वितरण गरिरहेका उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बिक्री गर्न आग्रह गरेको छ।
कृष्णभीर क्षेत्रमा बाढी–पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा ग्यास आपूर्ति गर्न उद्योगहरूले वैकल्पिक मार्ग प्रयोग गरेका थिए।
वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेपछि संघले भदौ १८ गते निगमले तोकेको मूल्यमा १०५ रुपैयाँ थप गरी २ हजार १६५ रुपैयाँमा ग्यास बिक्री गर्न आग्रह गरेको थियो।
अहिले अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक खुलेर यातायात सहज भएपछि ग्यासका बुलेट काठमाडौं आउन थालेका छन्।
वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था हटेसँगै अतिरिक्त ढुवानी खर्चसमेत हटेको संघले जनाएको छ।
संघले असोज २ गतेदेखि निगमले तोकेको पुरानै मूल्य २ हजार ६० रुपैयाँमै ग्यास बिक्री–वितरण गर्न उद्योगहरूलाई आग्रह गरेको छ ।